×
खोज
NepaliStudent.net
जीवन र परमेश्वरको बारेमा
 प्रश्नहरूको अन्वेषण गर्न सुरक्षित ठाउँ
मेरो जीवन

के परमेश्वरले हाम्रो प्रार्थनाको उत्तर दिनुहुन्छ?

प्रार्थना: प्रार्थनाले कसरी काम गर्छ? परमेश्वरले कस्तो प्रार्थनाको जवाफ दिनुहन्छ भन्ने कुरा पत्ता लगाउनुहोस्।

WhatsApp Share Facebook Share Twitter Share Share by Email More PDF

मारिलिन आदमसन

के तपाईंले परमेश्वरमाथि भरोसा राख्ने कुनै व्यक्तिलाई कहिल्यै चिन्नुभएको छ? जतिबेला म नास्तिक थिएँ, मेरो एक जना मिल्ने साथी थिइन् जसले प्रायजसो प्रार्थना गर्थिन्। तिनले हरेक हप्ता जसो परमेश्वरमाथि आफूले राखेको भरोसाको बारे मलाई बताउँथिन्। अनि परमेश्वरले अचम्म तरिकाले हरेक हप्ता तिनको प्रार्थनाको उत्तर दिनु भएको मैले देख्थें। हरेक हप्ता यो कुरा देख्नु एक नास्तिकको लागि कत्तिको गाह्रो छ भन्ने के तपाईंलाई थाहा छ? यी कामहरु देखेको केही समयपछि यो त “संयोग” मात्रै हो भन्ने भनाई एकदमै कमजोर जस्तो सुनिन थाल्यो ।

त्यसोभए, परमेश्वरले मेरो साथीका प्रार्थनाहरूको उत्तर किन दिनुहुन्छ त ? तिनको सम्बन्ध परमेश्वरसित गहिरो रुपमा हुनु नै यसको सबैभन्दा ठुलो कारण थियो । तिनी परमेश्वरलाई सुन्न र पछ्याउन चाहन्थिन्। तिनले आफ्नो जीवनलाई डोर्याउन र काम गर्नका निम्ति परमेश्वरलाई सुम्पेकी थिईन् । तिनले विभिन्न विषयहरूमा परमेश्वरसित प्रार्थना गर्नु, उहाँसंगको सम्बन्धको एउटा महत्वपुर्ण भाग थियो। आफ्ना आवश्यकताहरू, पीरचिन्ताहरू र जीवनका जस्तोसुकै तत्कालीन समस्याहरू लिएर परमेश्वरकहाँ जाँदा तिनी साह्रै राहत महसुस गर्थिन्। साथै, यसरी नै परमेश्वरमाथि निर्भर भएको परमेश्वर चाहनुहुन्छ भनेर तिनले बाइबलमा पढेका कुरामा तिनी विश्वस्त थिइन्।

“यदि उहाँको इच्छा अनुसार हामी माग्छौं भने उहाँले हाम्रो प्रार्थना सुन्नुहुन्छ भन्ने कुरामा विश्वस्त हुँदै हामी परमेश्वरको सामु जान्छौं,” “परमप्रभुको नजर धर्मात्मामाथि रहन्छ र तिनीहरूका प्रार्थना सुन्नमा उहाँले आफ्नो कान थाप्नुहुन्छ” भन्ने बाइबलको यस भनाइलाई तिनले आफ्नो जीवनमा उतारीन्।

त्यसोभए, किन परमेश्वरले सबैका प्रार्थनाहरूको उत्तर दिनुहुन्न त ?

उहाँसित तिनीहरूको ठिक सम्बन्ध नभएको कारण उहाँले उत्तर नदिनुभएको हुनसक्छ। तिनीहरूलाई परमेश्वर हुनुहुन्छ भन्ने थाहा हुनसक्छ, र समय-समयमा तिनीहरूले परमेश्वरको भक्ति गरेका पनि हुनसक्छन्। तर कहिल्यै प्रार्थनाको उत्तर नपाउनेहरूका सम्बन्ध सायद उहाँसित नहुनसक्छ। यस बाहेक, तिनीहरूले परमेश्वरबाट आफ्ना पापको पूर्ण क्षमा नपाएका हुन सक्छन । तपाईंको प्रार्थनासित यसको के सम्बन्ध छ? यसको स्पष्टिकरण यहाँ छ। “निश्चय नै परमप्रभुको हात बचाउन नसक्ने गरी छोटो भएको छैन, न त उहाँको कान सुन्न नसक्ने गरी बाक्लो भएको छ। तर तिमीहरूका अधर्मले तिमीहरूलाई आफ्ना परमेश्वरबाट अलग गरेका छन्। तिमीहरूको पापले गर्दा उहाँको मुहार तिमीहरूबाट छेकिएको छ, त्यसैले उहाँले तिमीहरूको कुरा सुन्नुहुनेछैन।”

यसरी परमेश्वरले हाम्रो पापको कारण हामी उहाँबाट अलग्गीएको महसुस गर्नु एकदम स्वभाविक कुरा हो। सामान्यतया मानिसहरूले परमेश्वरसँग कुन तरिकाले माग्दछन् ? तिनीहरूले यसरी सुरु गर्छन्, “हे परमेश्वर, यो समस्याको समाधान गर्न मलाई साँच्चिकै तपाईंको मद्दतको खाँचो छ।” अनि एकछिनको मौनतापछि पुन: यसो भन्छन्...“म सिद्ध व्यक्ति होइन भन्ने मलाई थाहा छ, र वास्तवमा यो कुरा माग्ने मसँग कुनै अधिकार छैन...” यसमा उनीहरूको व्यक्तिगत पाप र असफलताको बोध भएको पाइन्छ। अनि मानिसहरूलाई मात्रै होइन; परमेश्वर पनि यसमा सचेत हुनुहुन्छ भन्ने त्यस व्यक्तिलाई थाहा छ। “म कसको ठट्टा गर्दैछु?” भन्ने भावना यसमा पाइन्छ। परमेश्वरबाट तिनीहरूका सबै पापको क्षमा कसरी पाउन सकिन्छ र उहाँसँग कसरी सम्बन्ध राख्न सकिन्छ भन्ने कुरा तिनीहरूलाई थाहा नहुनसक्छ । ताकी परमेश्वरले तिनीहरूका प्रार्थना सुन्नुहुन्छ । योचाहीं परमेश्वरले तपाईंको प्रार्थनाको उत्तर दिने आधार हो।

प्रार्थनाले कसरी काम गर्छ?

तपाईंले पहिला परमेश्वरसित सम्बन्ध बनाउनुपर्छ। यसको कारण यहाँ छ। कल्पना गर्नुहोस् कि एक जना माइक नाउँ गरेको व्यक्तिले कारको ऋण लिनमा सह-हस्ताक्षर गर्न प्रिन्सटन विश्वविद्यालयको अध्यक्षलाई आग्रह गर्छन्। यदि माइकले व्यक्तिगत तवरले प्रिन्सटन विश्वविद्यालयको अध्यक्षलाई चिन्दैनन् भने उसको कारको ऋण पारित हुनसक्दैन। तर, यस अध्यक्षकी छोरीले तिनको बुबालाई आफ्नो लागि कारको ऋण लिन सह-हस्ताक्षर गर्नलाई आग्रह गरिन् भने यसमा कुनै समस्या थिएन। सम्बन्धले महत्त्व राख्छ।

परमेश्वरको मामलामा, जब कुनै व्यक्ति परमेश्वरको सन्तान हुन्छ र ऊ परमेश्वरको हुन्छ, परमेश्वरले उसलाई चिन्नु हुन्छ र परमेश्वरले उसको प्रार्थनाहरू सुन्नुहुन्छ। येशुले भन्नुभयो, “म असल गोठालो हुँ। म मेरा भेडाहरूलाई चिन्छु र तिनीहरूले पनि मलाई चिन्छन्...मेरा भेडाहरूले मेरा सोर चिन्छन्। म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्। म तिनीहरूलाई अनन्त जीवन दिन्छु र तिनीहरू नष्ट हुनेछैनन्; कसैले पनि तिनीहरूलाई मेरो हातबाट खोस्न सक्दैन।”

जब परमेश्वरको कुरा आउँछ, त्यस बेला के तपाईंले उहाँलाई साँच्चै चिन्नुहुन्छ र के उहाँले तपाईंलाई चिन्नुहुन्छ? के तपाईंको परमेश्वरसित त्यस्तो सम्बन्ध छ जसले उहाँलाई तपाईंका प्रार्थनाहरूको उत्तर दिन कर लगाउँछ? अथवा के परमेश्वर यति धेरै टाढा हुनुहुन्छ कि तपाईंको जीवनमा उहाँ एउटा धारणा मात्र हुनुहुन्छ? यदि परमेश्वर टाढा हुनुहुन्छ भने अथवा परमेश्वरलाई चिन्छु कि चिन्दिनँ भन्ने कुरामा तपाईं निश्चित हुनुहुन्न भने, यहाँ तपाईंले अहिले नै कसरी उहाँसित सम्बन्ध बनाउन सुरु गर्न सक्नुहुन्छ भनेर बताइएको छ। व्यक्तिगत रूपमा परमेश्वरलाई चिन्नु

के परमेश्वरले तपाईंको प्रार्थनाको उत्तर निश्चित रूपमा दिनुहुनेछ ?

उहाँलाई नचिन्ने र उहाँमाथि भरोसा नराख्नेहरूका लागि येशु आफ्ना रायसल्लाहमा अति नै उदार हुनुभएको देखिन्छ: “यदि तिमीहरूमा ममा रह्यौ र मेरा वचन तिमीहरूमा रह्यो भने, तिमीहरूलाई जे इच्छा लाग्छ माग र त्यो तिमीहरूलाई दिइनेछ।” उहाँमा “रहनु” र उहाँको वचन तिनीहरूमा रहनु भन्नुको अर्थ तिनीहरूका जीवनमा उहाँप्रति तिनीहरूले सजग व्यवहार देखाउनु, उहाँमाथि भरोसा राख्नु र उहाँले भन्नुभएका कुराहरू सुन्नु हो। त्यसपछि मात्र तिनीहरूले इच्छा गरेका कुरा उहाँसित माग्न तिनीहरू योग्य हुन्छन्। योग्यको बनाउने यहाँ अर्को एउटा कुरा छ: “यदि उहाँको इच्छा अनुसार हामी माग्छौं भने उहाँले हाम्रो प्रार्थना सुन्नुहुन्छ भन्ने कुरामा विश्वस्त हुँदै हामी परमेश्वरको सामु जान्छौं। अनि यदि हाम्रा प्रार्थना सुन्नुहुन्छ भन्ने हामीलाई थाहा छ भने–हामीले जेसुकै मागे पनि–उहाँसँग मागेको कुरा हामीले पाउनेछौं भन्ने हामीलाई थाहा छ।” परमेश्वरले आफ्नो इच्छा ( र उहाँको बुद्धि, हाम्रा लागि उहाँको प्रेम, उहाँको पवित्रता आदिका)अनुसार हाम्रा प्रार्थनाहरूका उत्तर दिनुहुन्छ ।

हामीलाई परमेश्वरको इच्छा थाहा छ भन्ने धारणा बनाउँदै हामी हिँड्छौं, किनभने केही खास कुराले हाम्रो लागि अर्थ राख्छ! हामी ठान्छौं कि कुनै खास प्रार्थनाको त्यहाँ एक मात्र सही “उत्तर” छ, र यही नै परमेश्वरको इच्छा हुनुपर्छ भन्नेमा हामी निश्चित हुन्छौं। र यहीँ निर गाह्रो हुन्छ। हामी समय र बुद्धिको सीमाभित्र बाँच्छौं। कुनै परिस्थिति र त्यसले भविष्यमा पार्ने प्रभावहरूका बारेमा हामीसँग सीमित जानकारी मात्र हुन्छ। परमेश्वरको समझ असीमित छ। जीवनमा अथवा इतिहासमा के-कस्ता घटनाहरू घट्छन् भनेर उहाँलाई मात्र थाहा छ। अनि उहाँसँग त्यस्ता उद्देश्यहरू हुनसक्छ जसको हामीले कल्पना समेत गर्न सक्दैनौं। त्यसैले यही नै परमेश्वरको इच्छा हुनुपर्छ भनेर हामीले ठानेकै कारण परमेश्वर कुनै पनि कुरा गर्नुहुनेछैन।

यसको लागि के चाहिन्छ? परमेश्वर के गर्न तैयार हुनुहुन्छ?

हामीप्रति परमेश्वरका अभिप्रायहरूको बारेमा असङ्ख्य पृष्ठहरू भर्न सकिन्छ। सम्पूर्ण बाइबल हामीले परमेश्वरसित कस्तो खालको सम्बन्ध अनुभव गरेको उहाँ चाहनुहुन्छ र कस्तो खालको जीवन उहाँले हामीलाई दिन चाहनुहुन्छ भन्ने कुराको विवरण हो। यहाँ केही उदाहरणहरू दिइएका छन्:

“...तिमीहरूमाथि अनुग्रह गर्न परमप्रभु इच्छा गर्नुहुन्छ। तिमीहरूमाथि दया देखाउन उहाँ उठ्नुहुन्छ। किनकि परमप्रभु न्याय गर्नुहुने परमेश्वर हुनुहुन्छ। उहाँको प्रतीक्षा गर्ने सबै धन्यका हुन्।” के तपाईंले त्यो बुझ्नुभयो? तपाईंलाई मद्दत गर्न आफ्नो मेचबाट उठ्दै गरेको व्यक्तिजस्तै, “तपाईंलाई दया देखाउन उहाँ उठ्नुहुन्छ।” परमेश्वरको विषयमा भन्ने हो भने उहाँको मार्ग सिद्ध छ...उहाँमा शरण लिनेहरूका निम्ति उहाँ ढाल हुनुहुन्छ।” “परमप्रभुको भय मान्ने (श्रद्धा देखाउने)हरूसँग, र उहाँको अचूक कृपामाथि भरोसा राख्नेहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ।”

यद्यपि, तपाईंप्रति परमेश्वरको प्रेम र प्रतिबद्धताको उहाँको सबैभन्दा ठुलो प्रदर्शन यही हो: येशुले भन्नुभयो, “आफ्ना मित्रहरूका लागि आफ्नो प्राण अर्पण गरिदिनुभन्दा ठुलो प्रेम अरू कसैको हुँदैन,”१० ठीक यही कुरा येशुले हाम्रा लागि गर्नुभयो। अनि त्यसैले, “यदि परमेश्वर हामीतर्फ हुनुहुन्छ भने, हाम्रो विरुद्ध को हुन्छ? जसले आफ्नै निज पुत्रलाई बाँकी राख्नुभएन, तर हामी सबैका निम्ति उहाँलाई दिनुभयो, के उहाँले हामीलाई सबै थोक पनि उहाँकै साथमा दिनुहुनेछैन र?”११

“अनुत्तरित” प्रार्थनाको बारेमा चाहिँ के भन्ने त?

निश्चित रूपमा मानिसहरू बिरामी हुन्छन् र मर्छन् पनि; आर्थिक समस्या आउँछन् र सबै प्रकारका कठिन परिस्थितिहरू खडा हुन सक्छन्। त्यसोभए के गर्ने ?

हाम्रा पीरचिन्ताहरू उहाँलाई सुम्पिदिन परमेश्वरले हामीलाई भन्नुहुन्छ। दु:खद परिस्थितिमा पनि, “तिमीहरूका सारा फिक्री उहाँलाई सुम्पिदेओ, किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ।”१२ परिस्थितिहरू नियन्त्रण बाहिर देखिएला, तर तिनीहरू त्यो हुँदैन। सारा संसार नै भताभुङ्ग भएको बेलामा परमेश्वरले हामीलाई संयमित बनाउन सक्नुहुन्छ। त्यतिखेर परमेश्वरलाई चिन्न पाएकोमा त्यो व्यक्ति कृतज्ञ हुनसक्छ। “प्रभु नजिकै हुनुहुन्छ। कुनै कुरामा चिन्तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवादसहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर होऊन्, र समझले नै भियाउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशुमा रक्षा गर्नेछ।”१३ तपाईंको समस्याको कल्पना समेत गर्न नसकिने समाधान र निधो परमेश्वरले दिन सक्नुहुन्छ। सम्भवत: ख्रीष्टियनले तिनीहरूका आफ्ना जीवनमा यस्ता उदाहरणहरू सूचीबद्ध गर्न सक्छन्। तर परिस्थितिहरूमा सुधार नआएको अवस्थामा पनि परमेश्वरले हामीलाई उहाँको शान्ति दिन सक्नुहुन्छ। येशुले भन्नुभयो, “शान्ति म तिमीहरूसँग छोडिराख्छु। म आफ्नो शान्ति तिमीहरूलाई दिन्छु। संसारले दिएजस्तो म तिमीहरूलाई दिँदिनँ। तिमीहरूका हृदय व्याकुल नहोस् र भयभीत नहोस्।”१४

यति बेला (परिस्थिति अझै कठिन हुँदै) निरन्तर उहाँमाथि भरोसा राख्न परमेश्वरले हामीलाई भन्नुहुन्छ– “देखेर होइन, विश्वासद्वारा हिँड” भनेर बाइबलले भन्छ। तर यो अन्धो विश्वास होइन। यो परमेश्वरको साँचो चरित्रमा आधारित छ। गोल्डेन गेट पुलमा गुडिरहेको कार त्यस पुलको संरचनाले थामेको हुन्छ। कार चालकले कस्तो महसुस गर्दैछ अथवा के सोच्दैछन वा पछाडि बसिराखेको यात्रुसँग के कुरा गर्दैछ भन्ने जस्ता कुराले केही मतलब राख्दैन। कारलाई सुरक्षित साथ अर्को किनारामा पुर्याउने काम त्यस पुलको संरचनाको हो, जसमा भरोसा गर्न कार चालक इच्छुक थिए।

त्यसरी नै, हाम्रो लागि उहाँको सच्चाइ, उहाँको चरित्र...उहाँको दया, प्रेम, बुद्धि र धार्मिकतामा विश्वास गर्न परमेश्वरले हामीलाई भन्नुहुन्छ। उहाँले भन्नुहुन्छ, “सधैंभरि रहने प्रेमले मैले तिमीलाई प्रेम गरेको छु, जसकारण मैले विश्वासयोग्य रहनलाई निरन्तरता दिँएको छु।”१५ “हे मानिस हो, सब समय उहाँमा नै भरोसा गर, उहाँको सामुन्ने आफ्ना मन खोल। किनकि परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ।”१६

सारांशमा

परमेश्वरले आफ्ना छोराछोरीहरूका (जसले आफ्ना जीवनमा उहाँलाई ग्रहण गरेका छन् र उहाँलाई पछ्याउन खोज्छन्) प्रार्थनाहरूका उत्तर दिने इच्छा गर्नुभएको छ। कुनै पनि पीरचिन्ताहरूका निम्ति प्रार्थना गर्न उहाँले हामीलाई भन्नुहुन्छ र उहाँले आफ्नो इच्छाबमोजिम त्यसको उत्तर दिनुहुनेछ। कठिनाइहरूको सामना गर्दा हामीले तिनीहरू उहाँलाई दिनुपर्छ र हामीले उहाँबाट ती परिस्थितिहरूलाई प्रभावहीन बनाइदिने शान्ति पाउँछौं। हाम्रो आशा र विश्वासको आधार भनेको परमेश्वर संयमको चरित्र हो। जति धेरै हामी उहाँलाई चिन्छौं, त्यति धेरै हामीले उहाँमाथि भरोसा गर्छौं।

परमेश्वरको चरित्रको बारेमा अरू थाहा पाउन परमेश्वर को हुनुहुन्छ? भन्ने लेख हेर्नुहोस् अथवा यस वेब साइटमा राखिएका अन्य लेखहरू हेर्नुहोस्। परमेश्वरको चरित्रको कारण हामी प्रार्थना गर्छौं। परमेश्वरले उत्तर दिनुहुने पहिलो प्रार्थना भनेको परमेश्वरसित सम्बन्ध बनाउन सुरु गर्नका लागि गरिने प्रार्थना हो।

 परमेश्वरसँग कसरी सम्बन्ध सुरू गर्ने ?
 म प्रश्न सोध्न चाहन्छु…

फुटनोटहरू: (१) १ यूहन्ना ५:१४ (२) १ पत्रुस ३:१२ (३) यशैया ५९:१,२ (४) यूहन्ना १०:१४,२७-२८ (५) यूहन्ना १५:७ (६) १ यूहन्ना ५:१४,१५ (७) यशैया ३०:१८ (८) भजनसंग्रह १८:३० (९) भजनसंग्रह १४७:११ (१०) यूहन्ना १५:१३ (११) रोमी ८:२३ (१२) १ पत्रुस ५:७ (१३) फिलिप्पी ४:५-७ (१४) यूहन्ना १४:२७ (१५) यर्मिया ३१:३ (१६) भजनसंग्रह ६२:८


अरूलार्इ पठाउनुहोस्
WhatsApp Share Facebook Share Twitter Share Share by Email More