×
खोज
NepaliStudent.net
जीवन र परमेश्वरको बारेमा
 प्रश्नहरूको अन्वेषण गर्न सुरक्षित ठाउँ
मेरो जीवन

घातक यौनजन्य अश्लील सामग्रीमाथिको यथार्थ चित्रण

अश्लील सामग्रीको लतबाट कसरी छुट्कारा पाउने ? अश्लील सामग्रीका ९ वटा झुटहरू र त्यसबाट कसरी मुक्त हुने ?

WhatsApp Share Facebook Share Twitter Share Share by Email More PDF

जिन म्याककोनेल

अश्लील सामग्री र त्यसको लत...प्रसङ्गभन्दा बाहिरको यौन

चिसो अनि अँध्यारो रातमा अगेनोमा बल्दै गरेको आगोभन्दा वेस अरू केही हुनसक्दैन । यो सुरक्षित, न्यानो, आरामदायी र रोमान्चक हुन्छ। अब अगेनोमा बलेको आगोलाई निकाल्नुहोस् र बैठक कोठाको ठीक बीच भागमा खसाल्नुहोस्। एक्कासि त्यो विनाशक बन्न पुग्छ । यौन पनि त्यही आगो हो। जबसम्म यसलाई वैवाहिक सम्बन्धको सुरक्षात्मक प्रतिबद्धतामा व्यक्त गरिन्छ, यो अद्भुत, न्यानो र रोमान्टिक हुन्छ। तर अश्लील सामग्रीले यौनलाई यसको प्रसङ्गभन्दा बाहिर लैजान्छ।

कुन कुराले अश्लील सामग्रीको लतको आगोमा घिउ थप्छ ?

मानसिक तवरले हाम्रो सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको हामी यौनिक रूपमा को हौं भन्ने स्वस्थ विचार हो। यदि यी विचारहरू प्रदूषित हुन्छन् भने हामी को हौं भन्ने एउटा महत्त्वपूर्ण भागमा प्रभाव पर्दछ। अश्लील सामग्रीको दुनियाले तपाईलाई यौन, प्रेम र सामीप्य सबै एउटै कुरा हो भनी बताउँछ। अश्लील सामग्रीमा आफूले हालसालै मात्र भेटेको बिलकुल अपरिचित व्यक्तिहरूसँग यौन सम्बन्ध राखिन्छ। यसमा आफ्नो यौन सन्तुष्टिको मात्र मतलब हुन्छ। यसमा, कसको शरीरको उपयोग गर्दैछु मतलब हुँदैन। अश्लील सामग्रीले तपाईंलाई यौन भनेको बिना कुनै परिणाम जुनसुकै समय, जहाँकहीँ र जोकीहीसँग राख्न सक्नुहुन्छ भनेर सोच्न लगाउँछ।

अश्लील सामग्रीको साँघुरो बिचारोको समस्या यो हो कि सम्बन्धहरू यौनमा आधारित हुँदैनन्, तर प्रतिबद्धता, हेरविचार र परस्पर विश्वासमा आधारित हुन्छन्। यस परिप्रेक्ष्यमा, अगेनाभित्रको आगोजस्तै यौन अद्भुत हुन्छ। तपाईंलाई माया गर्ने र स्वीकार गर्ने, तपाईंको जीवनभरि एकसाथ रहन तपाईंप्रति प्रतिबद्ध हुने र आफैलाई पूर्ण रूपमा समर्पण गर्न सकिने व्यक्तिसँग हुनुले यौनलाई एकदमै अद्भुत बनाउँछ।

अश्लील सामग्रीको लतबाट छुट्कारा पाउन: झुटहरू चिन्नुहोस्।

अश्लील सामग्रीबाट तपाईंले यौन बारेको सत्यतालाई सिक्न सक्नुहुन्न। यसले सत्यतामा सम्बन्ध बनाउँदैन। अश्लील सामग्री शिक्षा दिनको लागि नभई, बेच्नको लागि बनाइन्छ। यो एउटा ठुलो व्यवसाय हो जसले जसरि भए पनि धेरै पैसा कमाउँछ । तिनीहरूले त्यही देखाउनेछन्; जुन कुराले तपाईंलाई फर्केर आउने र अरू किनौ-किनौ बनाउँछ। त्यसकारण अश्लील सामग्रीले दर्शकहरूलाई पकडमा राख्न आकर्षित झुटहरू बनाउदछन । अश्लील सामग्री फस्टाउनको लागि निम्न प्रकारका झुटहरु को बारेमा बताउदछ – यौनको बारेमा झुट, महिलाहरू, विवाह र अन्य यस्ता थुप्रै झुट कुराहरू । आउनुहोस्, यसका केही झुटहरूका बारेमा र तिनीहरूले तपाईंको जीवन र मानसिकताहरूलाई कति सम्म खराब बनाउन सक्छ भन्ने बारे हेरौं।

  • झुट #१ महिलाहरू कुनै मानिस होइन।
    प्लेबोइ पत्रिकाले महिलाहरूलाई प्यारा जनावरहरू अथवा “खेल्ने साथीहरू” बनाउँदै “बनिज्” भनेर सम्बोधन गर्छ, र तिनीहरूलाई एउटा खेलौनाको रूपमा लिन्छ। पेन्टहाउस पत्रिकाले यिनीहरूलाई “पाल्तु जनावरहरू” भनेर सम्बोधन गर्छ। अश्लील सामग्रीले प्राय: महिलाहरूलाई जनावर, खेलौना अथवा शरीरको अङ्गहरूको रूपमा जनाउँछ। केही अश्लील सामग्रीले केवल शरीर अथवा यौनाङ्ग मात्र देखाउँछ र अनुहार देखाउँदैन। महिलाहरू धारणा तथा भावनाहरू भएका वास्तविक मानिस हुन् भन्ने सोचलाई गौण बनाएको छ।

  • झुट #२ महिलाहरू “खेल” हुन्।
    केही खेलकुद पत्रिकाहरूको समस्या “स्विम्सूट” हो। यसले यो बताउँछ कि महिलाहरू केवल एक किसिमको खेल हुन्। अश्लील सामग्रीले यौनलाई एउटा खेलको रूपमा हेर्छ र कुनै पनि खेलमा तपाईंले “जित्नुपर्छ”, “हराउनुपर्छ,” वा “अङ्क बटुल्नुपर्छ”। पुरुषहरू जसले यस्तो दृष्टिकोण राख्छन् तिनीहरू महिलाहरूका कति “अङ्क बटुलियो” भनेर कुरा गर्न मन पर्छ। तिनीहरूले कति माथि “विजय हासिल गर्न” सक्छन् भन्ने कुराको आधारमा तिनीहरूले आफ्नो पुरुषार्थको फैसला लिन्छन्। मैले “सम्बन्ध बनाएको” हरेक महिला मेरो सजावट आल्मारीको एउटा ट्रफी र मेरो पुरुषत्वलाई प्रमाणित गर्ने मेरो बेल्टमा भएको अर्को “नट्च” हो।

  • झुट #३ महिलाहरू व्यक्तिगत मालसामान हुन्।
    हामी सबैले स्लीक कारमाथि सिङगारिएको सेक्सी केटीको तस्बीर देखेका छौं। यसले नबोलेर दिएको सन्देश चाहिं “एउटा किन्नुहोस् र यी दुवै पाउनुहोस्” । अतिशय अश्लील सामग्रीले यसलाई अझ सीमा बाहिर लैजान्छ। यसले सम्भव भएसम्म ग्राहकलाई देखाउन सूचीकृत ब्रिक्री वस्तुको रूपमा देखाउँछ। केही पैसा खर्च गरेर केटीलाई बाहिर घुमाउन लैजाँदा ती केटीसित यौन सम्पर्क राख्ने तिनीहरूसँग अधिकार छ भन्ने धेरै जवान मानिसहरूमा सोचहुनु कुनै नौलो कुरो होइन। अश्लील सामग्रीले हामीलाई महिलाहरू किन्न सकिन्छ भनेर बताउँछ।

  • झुट #४ महिलाको महत्त्व तिनको शारीरिक आकर्षणमा भर पर्छ।
    अश्लील सामग्रीमा कम आकर्षक महिलाहरूका उपहास गरिन्छ। यिनीहरूलाई कुकुर, व्हेल, सुँगुर अथवा त्यो भन्दा पनि नराम्रो भनिन्छ, किनभने यिनीहरू अश्लील सामग्रीको मापदण्ड अनुसार “उपयुक्त” महिलामा पर्दैनन्। अश्लील सामग्रीले महिलाको विचार वा व्यक्तित्वलाई महत्त्व दिँदैन, केवल तिनको शरीरलाई महत्त्व दिन्छ।

  • झुट #५ महिलालाई बलात्कृत हुन मन पर्छ।
    एउटा सामान्य अश्लील सामग्रीको परिदृश्यमा “तिनको असहमति, तिनको सहमति हो” भन्ने हुन्छ। सुरुमा महिलाहरूलाई बलात्कृत हुँदै गरेको, बच्ने प्रयास गर्दै गरेको र हातखुट्टाले प्रतिकार गर्दै गरेको देखाइन्छ, अनि त्यसपछि तिनलाई त्यो मन पर्न थालेको देखाइन्छ। अश्लील सामग्रीले मनोरञ्जनको लागि महिलाहरूलाई चोट पुर्याउँदा र दुर्व्यवहार गर्दा आनन्द आउँछ भन्ने सिकाउँछ।

  • झुट #६ महिलाहरूको अपमान गर्नुपर्छ
    अश्लील सामग्री प्राय: महिला विरुद्ध अपशब्दले युक्त हुन्छ। सयौं तरिकाले महिलाहरूलाई यातना दिइएको र अपमान गरिएको र ती कुरा गर्न महिला आफैले उकासेको देखाइन्छ। के यस प्रकारको व्यवहारले महिलाहरू प्रतिको कुनै सम्मान देखाउँछ? के कुनै प्रेम दर्शाउँछ? अथवा के अश्लील सामग्रीले महिलाहरूप्रति घृणा र तिरस्कारलाई बढावा दिँदै छैन र?

  • झुट #७ स-साना केटाकेटीले यौन सम्बन्ध राख्नुपर्छ।
    अश्लील सामग्रीमा सबैभन्दा बढी बिक्री हुने कुरा “बाल” अश्लील सामग्री हो। महिलाहरूलाई सानी बालिका जस्तै चुलठीबनाएर , सानी केटीको जुत्ता लगाइदिएर र टेडी बेअ(र्) (भालु) समात्न लगाएर सानी केटीजस्ती देखाउने गरिन्छ। यी तस्बीरहरू र कार्टुनहरूको सन्देश भनेको वयस्कहरूले स-साना केटाकेटीसँग यौन सम्बन्ध राख्नु सामान्य कुरा हो। यसले अश्लील सामग्री प्रयोगकर्तालाई यौन नजरबाट केटाकेटीहरूलाई हेर्न लगाउँछ।

  • झुट #८ अवैध यौन सम्पर्क राख्दा रमाइलो हुन्छ।
    अश्लील सामग्रीले यौनलाई अझ “रोचक” बनाउन अवैध अथवा खतरनाक सरसमानहरूको प्रयोग गर्छ। यदि यौन अनौठो, अवैध अथवा खतरनाक छैन भने तपाईंले यौन आनन्द उठाउन सक्नुहुन्न भनेर यसले बताउँछ।

  • झुट #९ वेश्यावृत्ति आकर्षक छ
    अश्लील सामग्रीले वेश्यावृत्तिको रोमाञ्चक चित्र बनाउँछ। वास्तविकमा भने, यौनजन्य सामग्रीहरूमा देखिने थुप्रै महिलाहरू घर छोडेर भागेर दासत्वको जीवनमा फसेका हुन्छन्। तिनीहरूमध्ये धेरै जना यौन दुर्व्यवहारमा परेका हुन्छन्। तिनीहरूमध्ये केहीलाई कहिल्यै निको नहुने र अत्याधिक सरुवा यौन रोग लागेको हुन्छ र धेरै जसो कम उमेरमै मर्छन्। धेरै जनाले यसलाई पचाउन लागूऔषधिको सेवन गर्छन्।

अश्लील सामग्रीको लतको नतिजा

अश्लील सामग्रीले ती बर्बाद भएका जवान महिलाहरू र लतमा फसेका पुरुषहरूबाट नाफा कमाउँछ जसले आफ्ना धेरै जसो समय र पैसा अश्लील सामग्री निर्माण गर्न खर्च गर्दछ । हामीले देख्ने र सुन्ने कुराहरूले कुनै असर गर्दैन भन्ने हामीलाई लाग्न सक्छ। तर पनि राम्रो सङ्गीतले, राम्रा चलचित्रहरूले र राम्रा किताबहरूले हाम्रो जीवनमा ठुलो प्रभाव पार्छ भन्ने कुरालाई हामी सबैले स्वीकार गर्छौं। ती कुराहरूले हामीलाई राहत दिन, शिक्षा दिन, अघि बढाउन र प्रेरणा दिन सक्छ। प्रेरणाप्रद संचार माध्यमले हामीलाई फाइदा गरेता पनि अश्लील सामग्रीले चाहिं हामीमा नकरात्मक असर पार्छ

तस्बीरहरू सधैं तटस्थ हुँदैनन्। तिनीहरूले हामीमा प्रभाव पार्छन्। व्यवसायहरूलाई यो कुरा थाहा हुन्छ कि यदि बढी भावुक भएको समयमा तिनीहरूका उत्पादनको तस्बीर लगातार देखाउन तिनीहरूले सके भने, त्यो तपाईंको अवचेतन मनको गहिराइमा बस्नेछ। विज्ञापन वैज्ञानिकहरू आफ्ना काममा यति सिपालु हुन्छन्, र यदि तपाईंले तिनीहरूका विज्ञापन देख्नुभयो भने तिनीहरूका उत्पादन कति मात्रामा तपाईंले खरिद गर्नुहुनेछ भनेर तिनीहरूले अनुमान लगाउन सक्छन्। कहिलेकाहीँ त दर्शकहरूले तिनीहरूका उत्पादनको नाउँ समेत देख्दैनन्। रिसस् पिसेस्ले “ET (ई.टि.)” चलचित्रमा केही सेकेण्ड आफ्नो क्यान्डी देखाउनलाई ठुलो रकम खर्च गर्यो, र रिसस् पिसेस्को बिक्री आकासियो। किन? किनभने यस चलचित्रको सानो केटोले एलियनलाई भेट्दाको दृश्यसँग जोडिएको भावना, क्यान्डीको दृश्य तस्बीरमा बदली भयो। यदि उत्पादनको केही सेकेण्डको दृश्य–जबकि यो ध्यानाकर्षणको मुख्य कुरो थिएन–ले मानिसहरूका व्यवहारलाई प्रभावित पार्न सक्छ भने, त्यो चलचित्रको प्रभावलाई विचार गरौं जसले प्रत्यक्ष यौनिक चित्रहरू मार्फत् साढे एक घण्टा तपाईंको ध्यानलाई स्क्रीनमा लगाइराख्छ।

अश्लील सामग्रीका प्रभावहरू के-कस्ता छन्?

अश्लील सामग्रीले के-कस्ता विचारहरू तपाईंको दिमागमा राखिदिन्छ? यदि खराब कुराहरू लगातार थुप्रिँदै जान्छ भने, तपाईंको मानसिक पर्यावरण यति प्रदूषित हुनसक्छ कि तपाईंको जीवनमा समस्याहरू आइपर्न सक्छन्। यौनिक रूपमा हामी को हौं भन्ने स्वस्थ विचार नै मानसिक पर्यावरणको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो। यदि यी विचारहरू प्रदूषित भए भने, हामी को हौं भन्ने कुराको महत्त्वपूर्ण पक्ष नै हराउछ।

अश्लील सामग्रीको लत: अश्लील चित्रणहरूको आकर्षण

अश्लील सामग्री हेर्ने सबैमा यसको लत बस्दैन। केहीले चाहिँ पुरुषहरू, महिलाहरू, यौन, विवाह र केटाकेटीका बारेमा विषाक्त विचारहरू लिएर हेर्छन्। तर, अरू केहीमा तीब्र लत बसाल्ने एक प्रकारको भावनालाई यसले सहायता गर्छ । अश्लील सामग्री उत्पादक कम्पनीहरूलाई आफ्ना उत्पादनको पूर्णतया लतमा तपाईं फस्नु भए पनि केही फरक पर्दैन। यो व्यवसायको लागि फाइदाजनक छ। डा. भिक्टर क्लाइनले लतका चरणहरूलाई विभिन्न अवस्थामा विभाजन गरेका छन्; कुलतको अवस्था, बढौतीको अवस्था, संवेदनशीलताको अवस्था र नक्कल गर्ने अवस्था। अश्लील सामग्रीको लत परेकाहरूमा, सबैभन्दा पहिले आउने एउटा अर्को अवस्था– कलिलै उमेरमा अश्लील सामग्रीको बारेमा थाहा पाउनु–लाई मैले भेट्टाएको छु।

कलिलै उमेरमा थाहा पाउनु
अश्लील सामग्रीको लत परेकाहरूले कलिलै उमेरमा यो हेर्न सुरु गर्छन्। तिनीहरूले सानै उमेरबाट अश्लील सामग्री हेर्न थाल्छन् र यसले तिनीहरूको दिमागमा ठाउँ बनाउँछ।

अश्लील सामग्रीको लत
तपाईं अश्लील सामग्री सधैं हर्नुहुन्छ। यो तपाईंको जीवनको अभिन्न अङ्ग बन्छ। तपाईं यसमा फस्नुहुन्छ र यसलाई छोड्न सक्नुहुन्न।

बढौतीको अवस्था
तपाईं अरू बढी यौनजन्य सामग्री हेर्न थाल्नुहुन्छ। तपाईंलाई पहिला मन नपरेको यौन सामग्रीलाई तपाईंले प्रयोग गर्न थाल्नुहुन्छ। अहिले त्यसले तपाईंलाई उत्तेजित बनाउँछ।

संवेदनशीलता
तपाईंले देख्ने तस्बीरहरूप्रति तपाईं सुप्त हुन थाल्नुहुन्छ। अतिशय यौनजन्य सामग्री समेतले तपाईंलाई उत्तेजित बनाउँदैन। तपाईं पहिलेजस्तै रोमाञ्चित हुन व्यग्र बन्नुहुन्छ, तर त्यो तपाईंले पाउन सक्नुहुँदैन।

यौनिक नक्कल गर्नु
यति बेला पुरुषहरूले एउटा महत्त्वपूर्ण फड्का मार्छन् र तिनीहरूले देखेका यौनजन्य सामग्रीको नक्कल गर्न सुरु गर्छन्। कागज र प्लास्टिकका यौनजन्य तस्बीरहरूमा देखाइएका केही आसनहरू वास्तविक संसारमा वास्तविक मानिसहरूसँग हानिकारक तरिकाले प्रयोगमा ल्याइन्छ।

अश्लील सामग्रीको लत: के मलाई लत लागेको छ?

यदि तपाईंले यी कुराहरूलाई आफ्नो जीवनमा पाउनुहुन्छ भने, तपाईंले अहिले नै त्यसलाई त्याग्नु आवश्यक छ। के अश्लील सामग्रीले तपाईंको जीवनमाथि नियन्त्रण गर्ने क्रम बढ्दो छ? के यसलाई छोड्न तपाईंले सकिराख्नुभएको छैन? के तपाईंको मनमा अझ बढी यस्ता सामग्री हर्ने इच्छा आउँछ?

अश्लील सामग्रीको लत: म के गर्न सक्छु?

तपाईंले गर्नुपर्ने पहिलो कुरा अश्लील सामग्रीसितको तपाईंको सङ्घर्षलाई स्वीकार्नु हो। मलाई विश्वास गर्नुहोस्, तपाईंले स्वीकार गर्नुभयो भने तपाईं अनौठो अथवा असामान्य लाग्नु हुनेछैन। लाखौं पुरुष तथा महिलाहरू अश्लील सामग्रीसितको तिनीहरूको सङ्घर्षमा विभिन्न चरणहरूमा छन्। यसले खासै अचम्मित पार्दैन। अश्लील सामग्री उत्पादक कम्पनीले तपाईंलाई पासोमा पार्न लाखौं डलर खर्च गरेको हुन्छ। यसमा तिनीहरू सफल हुँदा के तपाईं साँच्चीकै स्तब्ध हुनुहुन्छ? तपाईंहरूमध्ये केहीका लागि तपाईंको विगतमा दुर्व्यवहार अथवा कलिलै उमेरमा यौनका बारेमा थाहा पाउनु जस्ता समस्याहरू भोग्नुपरेका होलान्, जसले गर्दा तपाईंलाई छोड्नै गाह्रो पर्ने गरी अश्लील सामग्रीको लत लागेको हुन सक्छ । बिना कुनै सहायता तपाईं एक्लैले यो लत छोड्न धेरै सङ्घर्ष गर्नुपर्छ।

यो लत छोड्न तपाईंलाई अरूको सहायता चाहिन्छ। गोप्यरुपमा यस माथि विजय हासिल गर्नु एकदमै महत्त्वपूर्ण छ। यो बिना तपाईंले लत छोड्न सक्नुहुन्न। यसको मतलब तपाईंले लत छोड्न सङ्घर्ष गर्दै हुनुहुन्छ भनेर सबैले थाहा पाउनुपर्छ भन्ने होइन। त्यो व्यक्तिलाई रोज्नुहोस् जसले लत छोड्न मानिसहरूलाई परामर्श दिने काम गर्छ– यो व्यक्ति पास्टर, जवान सङ्गतिको अगुवा अथवा परामर्शदाता हुनसक्छ। त्यो व्यक्ति जसमाथि तपाईंले पूर्ण भरोसा गर्न सक्नुहुन्छ, सुरक्षित महसुस गर्नुहुन्छ र लतसँग सम्बन्धित कुराहरूमा अनुभवी छ र यसले उनलाई कुनै अचम्मित पार्दैन।

के अश्लील सामग्रीको लतबाट छुट्कारा पाउन सकिन्छ?

अश्लील सामग्रीले तपाईंलाई झुट कुराहरूका पासोमा पार्छ। यसको विपरीत, परमेश्वरले हामीलाई सत्यतातर्फ डोर्याउनुहुन्छ। येशुले भन्नुभयो, “यदि तिमीहरूले मेरा आज्ञाहरू पालना गर्यौ भने तिमीहरू साँच्चीकै मेरा चेलाहरू हौ। तब तिमीहरूले सत्यता थाहा पाउनेछौ र त्यस सत्यताले तिमीहरूलाई स्वतन्त्र बनाउनेछ।” येशुको यो कुरा सुन्नेहरू जसलाई ठेस लाग्यो, तिनीहरूले प्रतिउत्तर दिए, “हामी कहिल्यै कसैको दास भएका छैनौं, हामी स्वतन्त्र हुन्छौं भनेर तपाईं कसरी भन्न सक्नुहुन्छ?” तब येशुले यो स्पष्ट पार्नुभयो कि मानिसहरू पापको दासत्वमा छन्, र उहाँले तिनीहरूलाई स्वतन्त्र गर्न सक्नुहुन्छ।

पापले हामीलाई केवल दास मात्र बनाउने होइन तर परमेश्वरबाट पनि टाढा बनाउँछ। त्यस्तै कुनै पनि व्यक्ति सिद्ध छैन। कोही पनि परमेश्वरको नजरमा धर्मी छैन। बरू हामीलाई यस्तो भनियो, “हामी सबै जना भेडाहरू जस्तै बरालिएका छौं र आफ्नै बाटोतिर लागेका छौं।” हामी सबै जना परमेश्वरको न्याय र दण्ड पाउन योग्यका छौं। तर पनि परमेश्वर; जो पवित्र र दयालु हुनुहुन्छ, उहाँले हाम्रा पापको एउटा समाधान गरिदिनुभयो, जसकारण हामीले आफैलाई दोषी ठहराउनु पर्दैन । उहाँले आफैमा हाम्रा पापको दण्ड भोग्नुभयो। परमेश्वरको पुत्र, येशु ख्रीष्टलाई हाम्रा पापको लागि यातना दिइयो र क्रूसमा मारियो ताकि हामीले क्षमा पाउन सकौं। तीन दिनपछि, आफूले भनेजस्तै गरी येशु मृतकबाट जीवित हुनुभयो। अब उहाँले तपाईंलाई उहाँसित सम्बन्ध गाँस्ने अवसर दिनुहुन्छ। बाइबलको सबैभन्दा अद्भुत भनाइ यो हो: “यदि हामीले आफ्ना पाप स्वीकार गर्छौं भने हाम्रा पाप क्षमा गर्न, सबै अधर्महरूबाट हामीलाई शुद्ध गर्न उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ।”

सबैभन्दा महत्त्वपूर्ण सम्बन्ध

सामीप्य र प्रेमको तपाईंको खोजमा अश्लील सामग्री साँचो प्रेमको एउटा खोक्रो विकल्प हो। परमेश्वर आफैद्वारा हाम्रो सामीप्यताको आवश्यकतालाई पूर्ण तवरले पूरा गर्न उहाँले हामीलाई सृष्टि गर्नुभयो। “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।” मानिसहरूका जीवनमा अश्लील सामग्रीले ल्याउन सक्ने अन्धकार र विनाशको ठीक विपरीत, येशुले भन्नुभयो, “तिनीहरूले जीवन पाऊन्, र त्यो प्रशस्त मात्रामा पाऊन् भन्ने हेतुले म आएँ।” येशुसँगको सम्बन्धद्वारा परमेश्वरले तपाईंलाई क्षमा दिनुहुन्छ। के तपाईंले येशूले क्षमा दिएको र उहाँ तपाईंको जीवनमा आउनु भएको चाहनुहुन्छ? अहिले नै प्रार्थनाद्वारा तपाईंले यसो गर्न सक्नुहुन्छ। यदि यसलाई शब्दहरूमा व्यक्त गर्नमा सहायता चाहिन्छ भने तलको यो प्रार्थना दोहर्याउनुहोस:

“प्रभु येशु, मैले मेरो पाप थाहा छ, र मलाई तपाईंको बारेमा पनि थाहा छ। म तपाईंलाई बिन्ती गर्छु मलाई क्षमा र शुद्ध गरिदिनहुनुहोस् । मेरा पापका लागि क्रूसमा मर्नुभएकोमा तपाईंलाई धन्यवाद। अहिले नै मेरो जीवनमा आउन र नयाँ काम सुरु गर्न तपाईंलाई बिन्ती गर्छु। तपाईंको इच्छा अनुसार मेरो जीवनलाई डोर्याउनुहोस्। तपाईंको क्षमाको लागि र अहिले नै मेरो जीवनमा आउनुभएकोमा तपाईंलाई धन्यवाद।”

 मैले भरखरै येशूलाइ मेरो जीवनमा ग्रहणा गरें (केही सहयोगी सूचनाहरू)
 म येशूलाइ मेरो जीवनमा निम्त्याउन चाहन्छु। कृपया यस बारेम अरू बताउनुहोस्
 म प्रश्न सोध्न चाहन्छु…

फुटनोटहरू: (१) यूहन्ना ८:३१ - ३२ (२) यूहन्ना ८:३३ (३) यूहन्ना ८:३४ (४) यशैया ५३:६ (५) १ यूहन्ना १:९ (६) यूहन्ना ३:१६ (७) यूहन्ना १०:१०


अरूलार्इ पठाउनुहोस्
WhatsApp Share Facebook Share Twitter Share Share by Email More